Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • हट एयर बेलुनलाई अब ९ हजार फिटसम्म उडाउन पाउने

    हट एयर बेलुनलाई अब ९ हजार फिटसम्म उडाउन पाउने

    काठमाडौं । माघ १९, हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो ।

    यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपाल अध्यक्ष विक्रम बाडेले बताए ।

    पोखरा लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थल टावर फ्रिक्वेन्सी निरन्तर अनुगमन गरी उडान गर्न मन्त्रीस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोललाई उदद्धृत गर्दै कम्पनीले जनाएको छ ।

    उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुन उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययनपछि अनुमति प्राप्त गरेको बाडेले बताएका छन् ।

    तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । बेलुन आकारमा देखिने यसको ‘इनभेलप’ भित्र पंखाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ ।

    तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित हुन्छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्छन् ।

    आधा घन्टा उडान गर्न नेपालीले ९ जहार ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ वर्षका बालबालिकालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क राष्ट्रका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क तोकिएको छ ।

     

  • नेपाली आकाशबाटै कैलाश मान सरोवरको दुरदर्शन सुरु

    नेपाली आकाशबाटै कैलाश मान सरोवरको दुरदर्शन सुरु

    काठमाडौं । माघ १५, कैलाश मानसरोवर चीनको तिब्बतमा रहेको हिन्दुधर्मालम्बीहरुको पवित्र तीर्थस्थल हो ।

    कोरोना संक्रमणको जोखिम बढेसँगै भारतीय पर्यटकहरुका लागि रोकिएको कैलाश मानसरोवर प्रवेश अझै खुलेको छैन ।

    तर माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै कैलाश मान सरोवरको दुरदर्शन सुरु भएको छ ।

    भारतीय पर्यटक कम्पनी दुर दि टेम्पलले नेपालको पथहिल ट्राभल्ससँग सहकार्य गरेर नेपालगञ्जबाट कैलाश मान सरोवरका लागि माउन्टेन फ्लाइट मार्फत दुरदर्शन सुरु गरेको हो ।

    भारतको दिल्ली मुम्बई गुजरात उत्तर प्रदेश लगायत विभिन्न क्षेत्रबाट नेपालगञ्ज आइपुगेका ३८ जना भारतीय पर्यटकहरुको समूहले श्री एयरको चार्टर विमानमार्फत करिब २७ हजार फिटको उचाइबाट कैलाश मानसरोवरको दुरदर्शन गरेका हुन ।

    श्री एयरका वरिष्ठ क्याप्टेन प्रफुल्ल वैद्यलगायतको उडान टिमले पहिलो पटक नेपालगञ्जबाट कैलाश मानसरोवरका लागि भरेको माउन्टेन फ्लाइटको अनुगमनका लागि नेपाल नागरिक उड्न प्राधिकरण नेपालञ्ज कार्यालयका प्रमुख सुरेश खनाल सहितको नागरिक उड्डयन प्राधिकरणको टीम पनि सहभागी थियो ।

    कोरोना संक्रमण सुरु हुनअघि नेपालगञ्जबाट सिमिकोट हिल्सा हुदै करिब १२ हजार भारतीय पर्यटकहरुले कैलाश मान सरोवरको दर्शन गर्दै आएका थिए ।

     

  • आज माघे सङ्क्रान्ति : तरुल, घ्यु, चाकु र खिचडी खाने दिन

    आज माघे सङ्क्रान्ति : तरुल, घ्यु, चाकु र खिचडी खाने दिन

    काठमाडौं । माघ १, प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ।

    माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ। ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्।

    धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ। सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।

    तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन्। सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ।

    मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ। माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ।

  • मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

    मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

    काठमाडौं । पुस १८, प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् ।

    एक वर्षको अवधिमा यस वर्ष नौ हजार १६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुखले जानकारी दिए ।

    मनास्लु क्षेत्र प्राकृतिक हिसाबले मनोरम र सामरिक हिसाबले पनि विशेष महत्वको क्षेत्र भएकाले पनि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । निषेधित क्षेत्रको रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुला गरेको थियो ।

     

  • आज उधौली पर्व मनाइँदै

    आज उधौली पर्व मनाइँदै

    काठमाडौं । पुस १०, प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ।

    किरात राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन्। किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।

    वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो। बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ।

    उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ। यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ।

    किरात समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन्।

    आजको दिन किराती समुदायले उधौली वा धान्यपुर्णिमा मनाउने गर्दछन्। यता नेवारी समुदायले यःमरि पुन्हि वा ज्यापु दिवस आजै मनाउने गर्दछन्। आजको दिन पूर्णिमा व्रतका लागि विशेष मानिन्छ। दत्तात्रेय जयन्तीसमेत आजै रहेको छ।

  • काठमाडौंबाट थाइल्याण्डको फुकेटमा सिधा चार्टर्ड उडान हुने

    काठमाडौंबाट थाइल्याण्डको फुकेटमा सिधा चार्टर्ड उडान हुने

    काठमाडौं । पुस ६, काठमाडौंबाट थाइल्याण्डको चर्चित पर्यटकीय केन्द्र फुकेटमा सिधा चार्टर्ड उडान हुने भएको छ ।

    रुप्से होलिडेजले आगामी २१ जनवरीमा हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौं–फुकेट सिधा उडान गर्न लागेको बताएको छ ।

    यसअघि यो कम्पनीले काठमाडौं–भियतनाम रुटमा तीन वटा चार्टर्ड सिधा उडान गरेको थियो ।

    रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले इतिहासमै पहिलो पटक दुई पर्यटकीय केन्द्रलाई सिधा उडानमा जोड्न थालिएको बताए ।

    उनका अनुसार यो उडानबाट नेपाली पर्यटकलाई सोझै फुकेट लैजाने र फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौं ल्याउने योजना छ ।

    थाइल्याण्डको समुन्द्री तटमा रहेको यो शहर एशियाको पर्यटकीय केन्द्र मानिन्छ । फुकेटले हरेक वर्ष हजारौं पर्यटकलाई स्वागत गर्छ ।

    कम्पनीका अनुसार यो उडानको एकतर्फी भाडा प्रतिव्यक्ति ३५ हजार नेपाली रुपैयाँ तोकिएको छ । यो उडानको दूरी ३ घण्टा १० मिनेटको हुने छ ।