Category: Uncategorized

  • महाकुम्भमा भागदौड हुँदा १४ जनाको मृत्यु

    महाकुम्भमा भागदौड हुँदा १४ जनाको मृत्यु

    एजेन्सि । माघ १६,  उत्तर प्रदेशको प्रयागराजमा भइरहेको महाकुम्भ मेलाको संगम तटमा भागदौड हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्। भागदौडपछि मौनी अमावस्याको अमृत स्नान रद्द गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। संगम नाकामा अचानक फैलिएको अफवाहका कारण भागदौड मच्चिएको थियो।

    महाकुम्भ मेला जनवरी १३ देखि सुरु भएको हो। हालसम्म १५ करोड बढीले गंगा स्नान गरिसकेको अनुमान छ। आज मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी भएर स्नान गर्ने अपेक्षा गरिएको थियो। यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोन गरेर घटनाको जानकारी लिएका छन्।

  • सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हितको पक्षमा हुँदैन : प्रधानमन्त्री ओली

    सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हितको पक्षमा हुँदैन : प्रधानमन्त्री ओली

    काठमाडौं । माघ ७, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हितको पक्षमा हुँदैन भनी अभिव्यक्ति दिएका छन् ।

    नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले सोमबार आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सानो देश हौँ भन्ने हिनताभाव पाल्नु पर्ने आवश्यकता नरहेको पनि बताए ।

    राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुराहरूलाई महत्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर नेपालले विश्वसनीय र जिम्मेवार रूपमा आफूलाई प्रस्तुत गर्ने बताए ।

    कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदँलिदो भू–राजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिला विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रधानमन्त्रीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको पनि स्पष्ट गरे । साना र ठूला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने उनको भनाइ थियो ।

     

  • शुक्रवार – आजको राशिफल

    शुक्रवार – आजको राशिफल

    आज – १४ मंसिर २०८१ शुक्रवार को राशिफल

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उमंग र उत्साहमा वृद्धि हुनेछ। व्यापार व्यवसायलाई विस्तार गर्न सकिनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। जीवनसाथीको कार्यक्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा हजुरको कुराको महत्व बढ्नेछ। रोकिएको धन मिल्ने सम्भावना रहेको छ। पुरानो साथीहरूसँग भेटघाट हुनेछ। वाहन चलाउँदा सावधान रहनुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा थप लगानी लगाउने समय रहेको छ। सन्तान पक्षबाट शुभ सुचना मिल्नेछ। कर्यक्षेत्रमा एउटा काम सिध्याएर अर्को काम थाल्नुपर्ने हुन्छ। अविवाहित हुनुहुन्छ भने विवाहको प्रस्ताव आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारको सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। विद्यार्थीहरूको पठनपाठन भन्दा मनोरञ्जनमा समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यले गर्दा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई मानसिक तनावबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा आफ्नो महत्त्वपूर्ण जानकारी कसैसँग नभन्नुहोस् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा काम बिग्रिनको डरले अज्ञात भय रहनेछ। पैतृक सम्पत्तिलाई लिएर कानुनी समस्या छ भने सुल्झिनेछ। पारिवारिक भ्रमणको सम्भावना रहेको छ। व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो कुराले अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। व्यापारमा नयाँ अनुबन्धहरू सफलतापूर्वक सम्पादित हुनेछन्। जीवन साथीसँग सम्बन्ध रमाइलो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) योजना बनाएर कार्य गरौं। कार्यक्षेत्रमा आलस्यबाट बच्नुहोस्। वैदेशिक व्यापारबाट शुभ सूचना मिल्नेछ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। सोचेको काम सम्पादित गर्न बाधा आउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थी वर्गहरूले सरकारी नोकरीमा परीक्षा दिएको छ भने राम्रो परिणाम मिल्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा कुनै प्रकारको जोखिम लिनदेखि बच्नुहोस्। स्वास्थ्य सम्बन्धी समस्याबाट आराम मिल्नेछ। अग्रिम रोकिएका कार्यहरू सम्पादित हुनेछन्। नोकरी पेशामा हजुरले आफ्नो कामको जस पाउनुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आयका नयाँ स्रोतहरू बन्नेछन्। अग्रिम योजनाहरूमा सफलता मिल्ने य‍ोग छ। आर्थिक कारोबारमा नयाँ निर्णयहरू सम्पादन हुनेछन्। कार्यक्षेत्रलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन उत्साहमा कमी रहनेछ। परिवारको मनमुटाव सुल्झ्याउन समय बित्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समय पर्खिनुहोला। कसैलाई सल्लाह नदिनुहोस्।

  • कुलमानले आफैंविरुद्ध मुद्दा हाल्न लगाएको खुलासा

    कुलमानले आफैंविरुद्ध मुद्दा हाल्न लगाएको खुलासा

    काठमाडौं । कात्तिक २८, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफु स्वयं ( कार्यकारी निर्देशक ) विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएको खुलेको छ ।

    बक्यौता नउठाइ उद्योगहरुमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको भन्दै अधिवक्ता अडानन्द कँडेलको नामबाट कात्तिक २७ गते रिट दर्ता भएको छ ।

    सो रिटमा नेपाल सरकार मन्त्रीपरीषद्, उर्जा मन्त्रालय, गिरिश्चन्द्र लाल नेतृत्वको आयोग, नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक कुलमान घिसिङलगायतलाई विपक्षी बनाएको छ ।

    सो रिटमा यस अघि मन्त्रीपरिषद्ले २७ बैशाख २०८१ मा गरेको निर्णय कार्यन्वयन नगर्न माग गरिरहेको छ । यसरी सरकार, प्राधिकरण र कार्यकारी निर्देशक घिसीङ लगायत विरुद्धमा रिट हाल्ने कँडेल प्राधिकरणकै कानुनी सल्लाहकार अधिवक्ता शरद कोइरालाको ल फर्म लर्ड एण्ड लयर्समा कामगर्ने व्यत्ति हुन् ।

    डेडिकेटेड र ट्रंक लाइन विबादमा कोइरालाले नै प्राधिकरणको तर्फबाट सर्वोच्चदेखि जिल्ला अदालतसम्म बहश गरिरहेका छन् ।

    त्यस रिटबारे जानकार स्रोतका अनुसार कार्यकारी निर्देशक घिसिङकै योजनामा त्यो रिट सर्वोच्चमा गएको हो । प्राधिकरणका तर्फबाट डेडिकेटेड फिडरसम्बन्धी विवादमा वकालत गरिरहेका अधिवक्ताकै कर्मचारीले रिट हाल्नुले यसलाई पुष्टि गर्ने स्रोतको तर्क छ ।

  • क्यानाडासँग नेपाल ४ विकेटले पराजित

    क्यानाडासँग नेपाल ४ विकेटले पराजित

    काठमाडौं । असोज १६, ओमानसम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु टोली क्यानडासँग पराजित भएको छ।

    मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको हो। सिरिजको अघिल्लो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो।

    पछिल्लो समय नेपाली टोली एक दिवसीय र टी २० का समान दुई खेलमा क्यानडासँग पराजित भएको छ।

    नेपालले दिएको १ सय ४० रनको लक्ष्य क्यानडाले ३ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। क्यानडाका साद विन जफर ३३ र रविन्द्रपाल सिंह २० रनमा अविजित रहे।

    कप्तान निकोलस किर्तन २६ र ओपनर दिलप्रित बाज्वा २५ रनमा पेभेलियन फर्के। नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामीले एक विकेट झारे।

    त्यसअघि किंग सिटीमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो।

    पहिलो विकेटका लागि ओपनर अनिल शाह र आशिफ शेखले १ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए पनि त्यसपछिका ब्याटरले आक्रमक खेल प्रस्तु गर्न सकेनन्।

    अनिल शाह ४१ र आशिफ शेख ३० रनमा आउट भए। कुशल भुर्तेल १३ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। गुल्सन झा २३ र करण केसी ८ रनमा अविजित रहे।

    सिरिजको अन्तिम खेलमा नेपालले आज बुधबार ओमानसँग खेल्नेछ। ओमानसँगको पहिलो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो।

    सिरिजपछि नेपाली टोली आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजका लागि अमेरिका प्रस्थान गर्नेछ।

  • प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै

    प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै

    काठमाडौं । भदौ २७, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछन् । सिंहदरबारमा दिउँसो साढे २ बजे मन्त्रीहरुलाई सम्झौताका लागि बोलाइएको छ ।

    यो सम्झौताका आधारमा मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’ बन्ने छ । २१ जना मन्त्रीसँग हुने कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरुले आर्थिक वर्ष २०८१८२ मा गर्नुपर्ने प्रमुख काम र समयसीमा उल्लेख छ । मन्त्रीहरुले सम्झौता अनुसार काम गरेको वा नगरेको आधारमा मासिकरचौमासिक समीक्षा हुनेछ ।

    प्रधानमन्त्री कार्यालयका अनुसार यो १ वर्षे सम्झौतामा मन्त्रीहरुले के–के गर्ने भन्ने उल्लेख छ । सरकारको नीति, नियम, निर्णय र निर्देशनअनुसार काम गर्न मन्त्रीहरुलाई सम्झौताले सहयोग गर्ने दाबी प्रधानमन्त्री निकट स्रोतको छ ।

    सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले सरकारले गर्नुपर्ने कुनै काम निश्चित अवधिभित्र गरिसक्नुपर्ने र निश्चित उपलब्धी हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै राष्ट्रिय प्राथमिकताप्राप्त कार्यक्रम वा आयोजना कार्यान्वयन गर्नुपर्ने भएमा कुनै पदाधिकारीसँग कार्य सम्पादन करार गर्न सकिने व्यवस्था पनि छ ।

    यही व्यवस्था अनुसार २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका थिए । प्रधानमन्त्री कार्यालयमा नतिजा व्यवस्थापन महाशाखा स्थापना गरेरै ओलीले १५ साउन २०७६ देखि मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्न थालेका थिए । तर, सम्झौता भएको ४ महिनापछि नै ओलीले मन्त्री हेरफेर गरेका थिए ।

    २५ साउन २०८०मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले कार्य सम्पादन सम्झौता गरेका थिए । तर, उनले रिपोर्ट कार्ड बनाएपनि त्यसअनुसार कुनै मन्त्रीहरुलाई कारवाही वा पुरस्कृत गरेनन् । अब फेरि प्रधानमन्त्री बनेका ओलीले आफूले सुरु गरेको परम्पराअनुसार कार्यसम्पादन सम्झौतालाई निरन्तरता दिन लागेका छन् ।