Category: Uncategorized

  • कालीगण्डकी लोकमार्गको निर्माणाधीन पुल बाढीले बगायो

    कालीगण्डकी लोकमार्गको निर्माणाधीन पुल बाढीले बगायो

    काठमाडौं । असार ६, उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ ।

    पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो ।

    दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ ।

    उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापामगरले जानकारी दिए । बाढीबाट निर्माणाधीन पुल बगाउँदा डेढ करोड बराबरको क्षति भएको छ ।

    यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो । अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सकिएको छ । ०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापर्वाहीका कारण पूरा हुन नसकेको स्थानीयले बताउँदै आएका छन् ।

    ५ करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहुँदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन ।

    यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आजभन्दा १५ दिनअगावै ढलान गर्नुपर्नेमा ढिलाइ गरेकाले निर्माण व्यवसायीले क्षति व्यहोर्नुपरेको बताए ।

    इन्जिनियर गौतमले ठेकेदारलाई एकरदुई महिनाको जरिवाना गराएर भए पनि आगामी मङ्सिरभित्र पुल सम्पन्न गरिने बताए । हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम पूरा भएको छ ।

    करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाए खोलासम्मको सडक कालोपत्र भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सीधा यातायात सञ्चालन हुन नसकेको हो ।

    कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरे पनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

     

  • कर्णालीको नमुना युवा मुख्यमन्त्रीमा चुनिए रोकाय र सभामुखमा परियार

    कर्णालीको नमुना युवा मुख्यमन्त्रीमा चुनिए रोकाय र सभामुखमा परियार

    काठमाडौं । जेठ ३१, संयुक्त आयोजनामा सञ्चालित नमुना युवा प्रदेश सभाको मुख्यमन्त्रीमा डोल्पाका धनु रोकाया चुनिएका छन् ।

    त्यस्तै नमुना युवा सभामुखमा रुकुम पश्चिमका गणेश डाँगी र नमुना उपसभामुखमा हुम्लाकी प्रतिक्षा परियार चुनिएका छन् ।

    कर्णालीको नमुना प्रदेशसभा मंगलबारदेखि सुर्खेतमा जारी छ । कर्णाली प्रदेशका सबै जिल्लाका विभिन्न पालिकाहरुमा नमुना युवा गाउँरनगर सभाको अभ्यासमा भाग लिएका १६ देखि २४ वर्ष उमेर समूहका युवा मध्येबाट छनौट भएका युवा प्रदेश सभा अभ्यासमा सरिक छन् ।

    चार दिनसम्म चल्ने अभ्यासमा युवाहरुलाई संघ र प्रदेशको शासकीय प्रबन्ध, संवैधानिक अभ्यास, प्रदेश सभा सञ्चालन कार्यविधि, ऐन निर्माण प्रक्रिया, नेतृत्व विकास लगायतका विषयमा प्रशिक्षित गराइने छ ।

    प्रादेशिक राजधानी सुर्खेतमा गत मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले नमुना प्रदेशसभाको उदघाटन गरेका थिए ।

    त्यसक्रममा मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारले आउँदो बजेटमा युवा सशक्तीकरणमा जोड दिने बताए । कंडेलले सीमित स्रोत र साधनका बाबजुद समग्र कर्णालीको विकासका लागि प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।

    प्रदेशका सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले युवाको सर्वाङ्गीण विकासमा मन्त्रालयले विशेष जोड दिइरहेको बताए ।

    राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई भविश्यका कर्णाधार मात्र नभएर वर्तमानका साझेदार बनाउनुपर्ने धारणा राखे । बस्नेतले युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराइनुपर्ने बताए ।

     

     

  • सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीबाट ६ जना मन्त्री बन्दै

    सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीबाट ६ जना मन्त्री बन्दै

    काठमाडौं । जेठ २८, सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएको छ ।

    एमालेले प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मुख्यमन्त्रीलाई दिएको स्रोतको भनाइ छ । यस्तै माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जानकारी दिएको छ ।

    मुख्यमन्त्री सोडारीले स्वतन्त्र प्रदेश सभा सदस्य डा। तारादत्त जोशीलाई समेत सरकारमा सहभागी गराएर सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयका अनुसार सोडारीले साँझ ५ बजे शपथ ग्रहणको व्यवस्था मिलाइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरिसकेका छन् । प्रमुख सत्ता साझेदार एमाले र माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम मुख्यमन्त्रीलाई बुझाएपनि मन्त्रालयगत भागबन्डा नमिल्दा समस्या भइरहेको छ ।

    भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्रयाएर मन्त्री नियुक्त गर्ने तयारीमा रहेका मुख्यमन्त्रीलाई सत्तारुढ दलभित्रैबाट मन्त्रालय विभाजन गर्न नहुने दबाब रहेको छ ।

     

  • बाल मन्दिर जग्गा प्रकरणमा बाल संगठनका तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ

    बाल मन्दिर जग्गा प्रकरणमा बाल संगठनका तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ

    काठमाडौं । जेठ २५, नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

     

    पक्राउ पर्नेमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेको हो । सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार श्रेष्ठलाई शुक्रबार काठमाडौंबाटै पक्राउ गरिएको हो ।

    बाल मन्दिरको जग्गा भाडा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिनापछि एक जना श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको हो । यो प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

    अहिलेसम्म कोही पनि पक्राउ नपरको भन्दै सीआईबीमाथि दबाब बढ्न थालेपछि सीआईबीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

    नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको छ ।

    २०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको छ ।

    पछिल्लो सम्झौता अनुसार यो जग्गा वृहस्पति विद्या सदनले २१२७ सालसम्म उपभोग गर्न पाउने देखिएको छ । भाडादर प्रतिरोपनी ३ लाख ९३ हजार रुपैयाँका दरले २८ रोपनीभन्दा बढी जग्गाको वार्षिक भाडा १ करोड १० लाख रुपैयाँ लिने गरी नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य र वृहस्पति विद्या सदनका तर्फबाट पुरुषोत्तमराज जोशीले सम्झौता गरेका थिए ।

    यो प्रकरणमा पक्राउ पुर्जी जारी हुने नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रीता सिंह वैद्य नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी हुन् ।

    पक्राउ पुर्जी जारी हुने अन्यमा बाल संगठनका तत्कालीन उपाध्यक्षहरू तुलसीनारायण श्रेष्ठ, योगेन्द्रबहादुर शाही, तत्कालीन महासचिवहरू गणेशदत्त श्रेष्ठ सुवासकुमार पोखरेल, श्यामकुमार आले, प्रचण्डराज प्रधान, रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णबहादुर साह, संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ छन् ।

    त्यसैगरी वृहस्पति विद्या सदनका तर्फबाट तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, विद्या सदनका तत्कालीन सञ्चालक प्रवीणराज जोशी, ऋद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कृतिप्रसाद पाण्डे र मुरारी निधि तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

     

  • लेखापरीक्षणबाट करिब १२ खर्ब बेरुजु कायम

    लेखापरीक्षणबाट करिब १२ खर्ब बेरुजु कायम

    काठमाडौं । जेठ १३, यस्तै ९३ सार्वजनिक संस्थाको ३६ खर्ब ६१ अर्ब ११ करोडको लेखापरीक्षणबाट ९ अर्ब १५ करोड (०.२५ प्रतिशत) बेरुजु कायम भएको छ ।

    सोको अतिरिक्त सङ्गठित संस्थाको लेखापरीक्षणक नियुक्तिको लागि परामर्श उपलब्ध गराइएका ४२ संस्थाको १४ खर्ब ८८ अर्ब ५६ करोडको लेखापरीक्षण गरिएको छ ।

    परामर्श उपलब्ध गराइएका संगठित संस्थासमेत ९३ खर्ब ७० अर्ब १६ करोडको लेखापरीक्षण सम्पन्न भएको छ ।

    गत वर्षसम्मको बाँकी बेरुजु ५ खर्ब ८७ अर्ब ३४ करोडमा फर्स्यौट तथा समायोजन गरिएको अङ्क १३ अर्ब ८ करोड घटाएर यो वर्ष थप भएको ९५ अर्ब ६० करोडसमेत ६ खर्ब ६९ अर्ब ८६ करोड बाँकी रहेको प्रतिवेदनामा उल्लेख छ ।

    लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष २२ अर्ब १७ करोड असुल भएको छ । अद्यावधिक कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम गत वर्षसम्म ३ खर्ब ७२ अर्ब ४५ करोड रहेकोमा यो वर्ष ५ खर्ब १३ अर्ब ४० करोड पुगेको छ ।

    महालेखाले म्याद ननाघेको पेश्कीलाई लगती बेरुजु कायम नगरी प्रतिवेदन बनाएको छ ।

     

  • नेपालको सन्दर्भमा संघीयता बोझिलो र खतरनाक छ: अध्यक्ष लिङदेन

    नेपालको सन्दर्भमा संघीयता बोझिलो र खतरनाक छ: अध्यक्ष लिङदेन

    काठमाडौं । जेठ ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन् ।

    शुक्रबारबाट सुरू भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘ नेपाल जस्तो जनसंख्या र भूगोल भएको हिसावले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र यति धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न सक्दैन । आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालको सन्दर्भमा संघीयता बोझिलो र खतरनाक छ ।’

    उनले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलब भत्ता ख्वाएर पाल्न नसक्ने बताए । उनले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम हुन आवश्यक रहेको बताए ।

    ‘मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम गरी प्रदेश तहको खारेजी मात्र नभइ प्रतिनिधि सभा तथा स्थानीय तहको समेत जनप्रतिनिधिको संख्यामा व्यापक कटौती गर्नुपर्छ । मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु हामी सबैको कर्तव्य हो।’ उनले भने ।

    उनले मुलुकलाई दीर्घकालीन अफ्ठ्यारोबाट जोगाउनु सबैको कर्तव्य रहेको भन्दै संघीयता देशको समृद्धिको आधार नभइ आर्थिक हिसावले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको उल्लेख गरे ।

    उनले भने, ‘ आज संघीयता देशको समृद्धिको आधार होइन, आर्थिक हिसावले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको छ । प्रदेश राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने ठाउँ बनेको छ ।’

    अध्यक्ष लिङदेनले सत्ता स्वार्थका लागि जोसँग जस्तो पनि सम्बन्ध राख्ने प्रवृत्तिका कारण छिमेक र विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बनेको बताए ।

    उनले सत्ता पक्ष र प्रमुख दलहरुको क्रियाकलाका कारण बिग्रिने सम्बन्ध र देशले भोग्नुपर्ने क्षति सम्बन्धित दलहरुले मात्र नभइ सिंगो देशले व्यहोर्नुपर्ने भन्दै वैदेशिक सम्बन्ध कसैसँग नजिक र टाढाको नभइ समान हुनुपर्ने बताए । वैदेशिक सम्बन्धमा दल र सत्ता नभइ केन्द्रमा देश हुनुपर्ने बताए ।