Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम

    त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम

    काठमाडौँ । पुस २, त्रिभुवन विश्वविद्यालयले (गिनिज बुकमा)  विश्व रेकर्ड कायम गरेको छ ।

    एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा गिनिज बुक अफ वर्ल्ड रेकर्डु ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो ।

    यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ ।

    गिनिज बुक अफ वर्ल्ड रेकर्ड ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुषाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ ।

    आजको दीक्षान्त समारोह अवलोकन गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्ड का प्रतिनिधि नेपाल आएका छन् ।

     

  • जावलाखेलमा आजदेखि फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

    जावलाखेलमा आजदेखि फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

    काठमाडौं । कात्तिक १४, ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।


    जावलाखेल ग्राउन्डमा आजदेखि सुरु भएको प्रदर्शनीमा करिब ७० वटा स्टल छन् ।

    नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवर्धन गर्नको लागि मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

    तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी ५ दिनसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ ।

     

     

     

     

     

     

     

     

     

     

     

  • प्राचीन मौलिक संस्कृतिक मान्यताको ‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा शुरु

    प्राचीन मौलिक संस्कृतिक मान्यताको ‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा शुरु

    काठमाडौं । कात्तिक १३, काठमाण्डौ महानगरपालिका–५ को हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायण जात्रा शुरु भएको छ ।

    हरेक वर्ष कोजाग्रत पूर्णिमापछि मनाइने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ ।

    तीन नारायण एवम् ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा देशका अन्य ठाउँ र जात्राको भन्दा फरक छ । अन्य ठाउँमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने तर यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कही नभएको जात्रा भन्ने गरिएको हो ।

    जात्राका क्रममा हिजो हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको थियो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा राखेर जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ ।

    मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो ।

     

  • आज ६८औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइयो

    आज ६८औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइयो

    काठमाडौं । कात्तिक १, नेपाल प्रहरीको ६८औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइएको जानकारी प्राप्त भएको छ ।

    ६८औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गरिएको छ ।

    प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत आ-आफ्नो विधामा उत्कृष्ट कार्य गर्नेहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।

    यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन तथा उच्च मनोबल प्रदान गर्नको लागि यसै वर्षदेखि यूनिसेफ नेपालको सहकार्यमा पुरस्कार प्रदान गरिएको छ ।

    नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने अवकास प्राप्त प्रहरी उपरीक्षक ध्रुवरत्न हाडा, अवकास प्राप्त प्रहरी निरीक्षक श्याने राना र विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको समयमा र डेङ्गु नियन्त्रणको लागि नेपाल प्रहरीलाई स्वास्थ्य सुरक्षाको सामग्री उपलब्ध गराई सहयोग गर्ने समाजसेवी रमेश केसीलाई सम्मानपत्र प्रदान गरिएको छ।

    साथै नेपाल प्रहरी स्मारक गुठिका ९ जना आजीवन सदस्यहरूले समेत कदरपत्र पाएका छन् ।

     

  • मदन र जगदम्बा श्री पुरस्कार ओझा र मुखियालाई अर्पण

    मदन र जगदम्बा श्री पुरस्कार ओझा र मुखियालाई अर्पण

    काठमाडौं । असोज २९, आज सोमबार २०७९ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार अर्पण गरिएको छ ।

    ललितपुरमा भएको कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरेका हुन् ।

    मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार-चार लाख रुपैयाँ छ । गुठीले यसअघि नै मदन पुरस्कार ऐँठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो ।

    ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए ।

    २०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा योगदान दिएका छन् ।

    उनले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरुको कभर र बालपुस्तकहरुमा चित्रकथा कोरेका छन् । उनी गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित भएका छन् ।

     

  • बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

    बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

    महेन्द्रनगर (कञ्चनपुर) । असोज १३, क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन् । चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ ।

    “क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो ।” बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने, “खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ ।” तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ ।

    “ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै”, उनले भने, “तर क्रिकेटबाट छोराले दिएको खुसीले हाम्रो दुःख नै ओझेलमा पर्‍यो ।” महेन्द्रनगरमा ऋण लिएर छ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन ।

    “अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा रु १५/२० लाख ऋणमा डुबे”, उने भने, “रु ९/१० लाख छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट तिर्‍यौँ ।” कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन् ।

    थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन् ।

    “क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पुर्‍यायो”, उनले भने, “ अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा ।” कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा (एसएलसी) सनराइज हायर सेकेण्डरी स्कुलबाट गरे ।

    “सनराइजबाट भीम क्रिकेटमा राइज भयो”, बुबा वीरभानले भने, “स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो ।” एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुबई पठाएका छन् ।

    “जमिन घरबासका लागि डेढ कट्ठा मात्रै छ”, उनले भने, “क्रिकेटबाट भीमले परिवारकै ठूलो परिचय बनाइदियो ।” परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ । “ऋणदानदेखि आर्थिक हरहिसाब सबै भीमले नै सम्हालेको छ”, उनले भने, “काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो ।”

    भीमले क्रिकेट सुरु गर्दा मैदान छेउमा उभिएर हेर्दा त्यो बेलाको सिनियर खेलाडी चन्द्र साउँदले उनलाई क्रिकेटमा भित्र्याएको वीरभानले बताए । “क्रिकेट हेर्न गएकाले बेला भीमलाई बाहिर गएको बल ल्याउन चन्द्रले भनेछन्”, उनले भने, “त्यसपछि चन्द्रले क्रिकेट खेल्न आउन आग्रह गरेपछि भीमले भोलिपल्टैबाट क्रिकेटमा जोडिन थाले ।”

    त्यसअघि भीमका दाजु विनाद पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारीमा गएपछि भीम खेलतिर लागेका हुन् । “भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो”, उनले भने, “कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ ।”

    यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन् । “बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउथ्यो”, उनले भने, “अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो ।”

    बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुलले निकै सहयोग गरेको शाहीको भनाइ छ । दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ ।

    “सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै”, उनले भने, “खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन ।” पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ ।

    “हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन्”, उनले भने, “संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ ।”

    -रासस