Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • जीवित देवी कुमारीको सामूहिक पूजा गरिँदै

    जीवित देवी कुमारीको सामूहिक पूजा गरिँदै

    काठमाडौँ । असोज १०, बुधबार काठमाडौंको बसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ ।

    इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।

    बुधबार सामूहिक पूजामा सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए । धेरै कुमारीलाई अभिभावकले लिएर आएका थिए ।

     

  • तीज र पञ्चमी पर्वमा भक्तजनको भीड

    तीज र पञ्चमी पर्वमा भक्तजनको भीड

    काठमाडौँ । असोज २, तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड अज पञ्चमी पुजा लगाएर सक्किएको छ ।

    भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने पर्वको अवसरमा देशका विभिन्न शिवालयमा महीलाहरुको भिड देख्न सकिन्छ ।

    तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गरेर तीज र पञ्चमी पर्व मनाउने गरीन्छ ।

    नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

    यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। टेकु र मूलपानीको ऋषेश्वर मन्दिर लगायत काठमाडौँ उपत्यकाका शिव मन्दिरहरुमा आज चहल पहल  बढेका छन् ।

    जहाँ सनातनकालदेखि नै भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भीड लाग्ने गरेको छ । आज भने तिथि ढिला लागेकाले करिब ११ बजेपछि भक्तजनको बढी भीड लागेको जनाइएको छ ।

    यस वर्ष आज बिहान सूर्योदयकालमा चौथी तिथि भए पनि मध्याह्नकालमा पञ्चमी तिथि लाग्ने भएकाले आजै ऋषिपञ्चमी पर्व मनाउनुपर्ने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको थियो ।

    आज नेपाली नारीले विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गरेपछि तीज पर्व समापन हुन्छ ।

    आइतबार बेलुकी दर खाएपछि यस वर्षको तीज सुरु भएको थियो । नेपाली नारीले मात्र मनाउने मौलिक पर्वका रुपमा रहेको तीज पर्व सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतलगायत वैदिक सनातन हिन्दू धर्मावलम्बीको बसोबास रहेका मुलुकमा पनि मनाउन थालिएको छ ।

  • आज गोकर्णेश्वरलगायत तीर्थस्थलमा कुशे औँसीको घुइचो

    आज गोकर्णेश्वरलगायत तीर्थस्थलमा कुशे औँसीको घुइचो

    काठमाडौँ । भदौ २८, आज कुशे औँसी ।आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लागेको छ । आज बुबाको मुख हेर्ने दिन पनि मनाइँदै छ ।

    आज बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।

    रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लागेको छ । यस्तै, चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट वेणीमा पनि पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजनको घुइँचो लागेको छ ।

     

     

     

     

     

     

     

     

     

  • पोखरामा २३ वर्षपछि मनाइयो ‘जात्राहरुको पनि जात्रा’ बाघजात्रा

    पोखरामा २३ वर्षपछि मनाइयो ‘जात्राहरुको पनि जात्रा’ बाघजात्रा

    काठमाडौँ । भदौ २१, पोखरामा २३ वर्षपछि बाघजात्रा मनाइएको छ । ‘जात्राहरुको पनि जात्रा’ बाघजात्रा यसअघि २०५७ सालमा मनाइएको थियो ।

    पोखरामा सोमवारदेखि शुरु भएको जात्रा पोखराको मुख्यमुख्य ठाउँमा देखाउँदै हिजो रङ्गशालामा देखाएपछि सकिएको हो ।

    पहिलो दिन भदौ १८ गते सोमवार देखाइएको जात्रा नेवा छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक पुगेको थियो ।

    दोस्रो दिन १९ गते नेवा छें हुँदै गणेशटोल, सिमलचौर, सिर्जनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै जात्रा नेवाः छे पुगेर सकिएको थियो ।

    जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।

    पोखराका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बाघजात्रामा बाघलाई घेरामा हाल्ने प्रक्रिया नै यसको मुख्य आकर्षण हो । जात्रामा बाघले गुरिल्लामाथि आक्रमणको प्रयास गर्दछ ।

    जात्रामा शरीरभरि लहराको माला र लहरकै टोपी लगाएका १२ जना गुरिल्लाहरु हुन्छन् । उनीहरु बाघको आक्रमणबाट बच्दै सकेसम्म बाघलाई सानो घेरामा पार्न खोज्छन् ।

    अनेकखालका बाजाको धुनले बाघ लठ्ठ पार्ने प्रयास गरिन्छ । यसैगरी जात्रा अघि बढ्छ । धार्मिक किंवदन्तीअनुसार प्रहसनमा ुडमी बाघु लाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरेपछि जात्रा सकिन्छ ।

     

     

     

     

     

     

     

     

     

     

     

  • जन्माष्टमीको अवसर पारेर ‘मट्का फुटाउने’ प्रतियोगिता

    जन्माष्टमीको अवसर पारेर ‘मट्का फुटाउने’ प्रतियोगिता

    काठमाडौं । भदौ २०, श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मट्का फुटाउने’प्रतियोगिता आयोजना गरिएको छ ।

     

    सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना गरिएको हो ।

    विसं २०५६ देखि हरेक वर्ष मनाउँदै आइएको उक्त प्रतियोगितामा निलो रिबन लगाउने टोली प्रथम भएको क्लबका अध्यक्ष दीपेन्द्र केसीले बताए । उनका अनुसार प्रतियोगितामा रातो र निलो रिबन लगाउने दुई समूहको सहभागिता थियो ।

    “पार्क नजिकै सडकको माथि डोरीमा माटोको मट्का दही राखेर झुण्ड्याइने र प्रतियोगीले उक्त मट्का फुटाउने चलन रहँदै आएको छ’, केसीले भने । उनका अनुसार मट्का निकै माथि डोरीमा झुण्ड्याइने भएकाले मानिसमाथि मानिस चढेर फुटाउने गरिन्छ ।

    यसवर्ष ११ पटकको प्रयासपछि उक्त मट्का फुटाइएको हो । प्रतियोगिताका विजेता टोलीले रू २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उक्त रकम क्लबका अध्यक्ष केसीले प्रथम विजेता टोलीलाई हस्तान्तरण गरे ।

    आजै साना बालबालिकाका लागि घैंटो फुटाइ कार्यक्रमसमेत चिल्ड्रेन पार्कमै आयोजना गरिएको थियो । घैँटो फुटाइ कार्यक्रममा विजेता बालबालिकालाई जनही रू एक हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

  • जन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा घुँइचो

    जन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा घुँइचो

    काठमाडौं । भदौ २०, ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

     

    आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।

    हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ ।

    भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ ।

    हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । गएको वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो । पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन् ।