Category: Uncategorized

  • सर्वोच्चमा भरतपुर वडा नम्बर १९ को सुनुवाई शुरु

    सर्वोच्चमा भरतपुर वडा नम्बर १९ को सुनुवाई शुरु

    भरतपुर । चितवनको भरतपुर वडा न. १९ मा पुनः मतदान गराउने विषयलाई लिएर निर्वाचन आयोगको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई शुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको वेन्चमा बहस शुरु भएको हो । मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा परेको रिट निवेदनको सुनुवाई आज भएको हो ।

    मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । अदालतमा दायर गरिएको रिटको सुनुवाई पटक पटक सरेपछि भरतपुर महानगरपालिकाको पुनः निर्वाचन हुने वा पुनः मतगणना हुने भन्ने वारे केहि ठोस निष्कर्ष आउन सकेको छैन । भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुन भने ज्ञवाली एमालेका उम्मेदवार हुन । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो । सोही गाउँका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गरेका थिए ।

    चितवनको भरतपुरमा मतगणना भइरहेका बेला माओवादीका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्नुपर्ने निर्णय अघि सारेको थियो ।

  • अब लोकसेवा आयोगका गतिविधि मोबाइल एप्समा

    काठमाडौं । लोकसेवा आयोगले अब आफना हरेक गतिविधि मोबाइल एप्सबाट जानकारी गराउने भएको छ । आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले सो मोबाइल एप्सको सार्वजनिक गर्नुभयो ।
    लोकसेवा आयोगको एप्सका लागि गुगलबाट ‘पिएससी नेपाल’ डाउनलोड गर्नुपर्ने हुन्छ । एप्स डाउनलोडपछि मोबाइलबाटै विज्ञापन, परीक्षाको नतिजा र स्वीकृत नामावलीलगायत आयोगका प्रत्येक गतिविधिबारे जानकारी लिन सकिनेछ ।
    कार्यक्रममा उपराष्ट्रपति पुनले दुर्गम क्षेत्रका नागरिकका लागि लोकसेवासम्म सहज पहुँचको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
    समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा भनसुन उद्योग फस्टाउँदै गएकाबेला आयोग नितान्त फरक, व्यवसायिक र अलग रहेको बताउनुभयो ।
    आयोगका अध्यक्ष उमेश मैनालीले राजपत्राङ्कित प्रथम श्रेणी अप्राविधिकतर्फको पाठ्यक्रममा आमूल परिवर्तन गरिएको पनि जानकारी दिनुभयो ।

  • कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित

    कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बन्नु भएको छ । व्यवस्थापिका संसदको बहुमतले देउवालाइ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । देउवालाई नेकपा माओवादी केन्द्र, राप्रपा, राजपा, संघीय समाजवादी फोरम लगायत बिभिन्न साना दलहरुले समर्थन गरेका थिए । निर्वाचनका क्रममा संसदमा कुल ५५८ सांसद उपस्थित हुनुहुन्थ्यो । उपस्थिति संख्या मध्ये देउवाको पक्षमा ३८८ र बिपक्षमा १७० मत परेको थियो ।

    देउवा चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका देउवाले दोस्रो पटक २०५८ सालमा पुनः मुलुकको जिम्मेवारी सम्हाल्नुभएको थियो । तर २०५९ असोजमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले देउवालाई असक्षम भनि पदबाट बर्खास्त गर्नुभयो । २०६१ जेठमा शाहले पुनः प्रधानमन्त्रीमा नियुक्त गरेपछि मुलुकको बागडोर तेस्रो पटक देउवाको काँधमा पुगेको थियो । त्यसको १२ बर्षपछि चौथो पटक देउवा प्रधानमन्त्री बन्नु भएको हो ।
    डडेलधुरामा जन्मनुभएका ७१ बर्षीय देउवाले त्रिभुवन विश्वबिद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ । देउवाले २०५९ सालमा पार्टी बिभाजन गरी कांग्रेस प्रजातान्त्रिक नामको छुट्टै दल गठन गर्नुभएको थियो । पछि २०६४ सालमा पार्टी एकीकरण भएको थियो । उहाँ लामो समयदेखि डढेलधुराबाट व्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्दै आउनुभएको छ । प्रधानमन्त्रीका रुपमा देउवालाई स्थानीय तहको दोस्रो चरणको निर्वाचन सहित संघ र प्रदेशको निर्वाचन गराएर संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ ।

  • रियल मेड्रिड च्याम्पियन्स लिग च्याम्पियन

    रियल मेड्रिड च्याम्पियन्स लिग च्याम्पियन

    बिबिसि ।    इटालियन क्लव युभेन्ट्सलाई हराउँदै रियल मड्रिडले च्याम्पियन्स लिग फुटवलको उपाधी जितेको छ । ४–१ गोल अन्तरको फराकिलो जितसँगै रियलले १२ औं पटक च्याम्प्यिन्स लिगको उपाधी आफनो पक्षमा पारेको हो । उसको जितमा स्टार स्ट्राइकर रोनाल्डोले २ गोल गरे । २० औं मिनेटमा उनले टिमलाइ अग्रता दिएका थिए । तर २७ औं मिनेटमा युभेन्ट्सका मारियो मान्डुज्कीले गोल गर्दै खेल बरावरीमा फर्काए । पहिलो हाफ बरावरीमा सकिएपनि दोस्रो हाफमा भने रियल हावी भएको थियो । कासिमेरोले ६१ औं मिनेटमा टिमलाई अग्रता दिलाए भने रोनाल्डोले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पारे । अन्तिम मिनेटमा मार्को एसिन्सोले गोल गर्दै टिमको ४–१ को जित सुनिश्चित गरे ।

  • मनिलाको क्यासिनोमा ३६ जनाको शव फेला

    मनिलाको क्यासिनोमा ३६ जनाको शव फेला

    बिबिसि ।एक जना बन्दुकधारीले आक्रमण गरेको केही घण्टापछि फिलिपिन्सको राजधानी मनिलाको एउटा क्यासिनोमा ३६ जनाको शव फेला परेको छ।  प्रहरी र अग्नीनियन्त्रक अधिकारीहरुले अधिकांश पीडितहरु निसास्सिएर मरेको जनाएका छन्। हमलाकारीले राइफलबाट गोली हानेको र जुवा खेल्ने टेबलहरुमा आगो लगाइदिएको बताइएको छ।  हमलापछि रिजोर्टस वर्ल्ड नामक सो क्यासिनोबाट ग्राहकहरु भागेका थिए।

    हमला

    शुरुमा आतंकवादी हमला भएको ठानिएको भएपनि पछि अधिकारीहरुले त्यो डकैतीको प्रयास हुनसक्ने पनि बताएका थिए। आक्रमणकारीको शव क्यासिनोको एउटा कोठामा फेला परेको थियो।  प्रहरीले हमलाकारीको उद्देश्य अझै स्पष्ट भइ नसकेको जनाएको छ। स्वचालित हतियार प्रयोग गरी बन्दुकधारीले गोली चलाउन थालेपछि क्यासिनोमा आतंकको वातावरण देखिएको थियो। हमलाकारीले क्यासिनोमा पेट्रोल छर्केर आगो लगाइदिएको बताइन्छ। प्रहरीले पछि आक्रमणकारीले आफैंलाई आगो लगाएर ज्यान लिएको बताएको छ।

    घाइते

    कसैले पनि गोलीको चोट लागेर ज्यान नगुमाएको बताइएको छ। अगालागीका कारण निस्किएको धुवाँबाट निसास्सिएर मानिसहरु मरेको प्रहरीको भनाइ छ। माथिल्लो तलाबाट ज्यान जोगाउन हामफाल्दा तथा भिडले कुल्चिएर घाइते भएका मानिसहरुको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। घाइते मध्ये करिब ५० जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। जिहादी समूह इस्लामिक स्टेटले बन्दुकधारीले आफ्ना लागि काम गरेको बताएको भएपनि फिलिपिन्सका प्रहरीले उक्त घटनाको इस्लामवादी उग्रवादसँग कुनै सम्बन्ध नदेखिएको जनाएका छन्।