दृष्टिविहिनलाई दया होईन अवसर देऊ

सहयात्रा टिभी

सहायात्राटीभी : कुनै अपाङ्गता भएका व्यक्तिहरु देख्नेवित्तिकै हामी दयाको भावले हेर्छौ, विचराको शब्दले सम्बोधन गछौँ तर हामीले त्यसो गरिरहँदा हामी आँफै विचराको पात्र भइरहेका छौँ भन्ने कुरा हामी आँफैले हेक्का राख्दैनौ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई हाम्रो दया भन्दा पनि सहयोग र राज्यबाट अवसर दिइनु आवश्यक हुन्छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर दिएर सहयोग गर्नु त के अपाङ्गमैत्री वातावरण समेत तयार पार्न सकेको छैन राज्यले ।

सपाङ्गता भएका मानिसहरु एक मिनेट पनि आँखा बन्द गरेर हिँड्न सक्दैनौ तर दृष्टिविहिनहरु जो अब आफ्नो जीन्दगीमा आँखा देख्छु भन्ने झिनो आशा पनि राख्न सक्दैनन् उनीहरुको दैनिकी कति कठिन होला, कल्पना वाहिरको कुरा जस्तै हो यो ।

हामीलाई बाटो हिड्दा, विद्यालय, क्याप्पसमा, काम गर्ने ठाउँ, बस, अन्य सरकारी कार्यालयहरु जहाँ पनि सानो समस्या हुँदा पनि सरकारलाई दोष दिन्छौँ, केहि व्यवस्थित छैन भनि मुरमुरिन्छौँ र सुधारका निम्ति आवाज उठाउँछौ र सम्बन्धित निकायमा घच्घच्याउने प्रयास गर्छौ । तर सानो समस्यामा अतालिने हामी आँखा नदेखेर पनि दैनिकी चलाउने दृष्टिविहिनहरुका समस्या र कठिनाईलाई अन्देख गरिरहेका छौं । दृष्टिविहिनहरुले आफ्नो दैनिक जीवन, दैनिक क्रियाकलापमा त समस्या भोग्नु पर्छ नै, तर सार्वजनिक स्थलमा पनि भोग्नुपर्ने समस्याले भने उनीहरुलाई आफु अपाङ्गता भएकोमा हिनताबोध गराइरहेको छ ।

हामी देखिरहेका हुन्छौ सेतो छडिको सहारामा आफ्नो गन्तव्य खोज्दै गरेका दृष्टिविहिनहरु हामी भन्दा धेरै सतर्क भएर हिँडिरहँदा पनि हरेक कुराको अस्तव्यस्तताका कारण उनीहरुले धेरै समस्या भोगिरहेका छन् । बाटोमा हुने खाल्डा खुल्डी, अव्यवस्थित विजुलीका पोलहरु, आकाशे पुल आदिमा दृष्टिविहिनहरु दुर्घटनामा परेको हामी यात्राको क्रममा प्राय देखिरहेका हुन्छौँ ।

 

त्यसैगरी काठमाण्डौं उपत्यकाका बाटोमा जताततै देखिने भुस्याहा कुकुरहरुले पनि निकै समस्यामा पार्ने गरेको दृष्टिविहिनहरुको गुनासो छ । एक दृष्टिविहिन जीवन बानियाँले भन्दै थिए, ‘हामीलाई हरेक क्षेत्रमा समस्या नै समस्या छ, अरुले हामीले आँखा नदेख्नुलाई हाम्रो कमजोरी भन्छन् तर म हाम्रो लागी व्यवस्थीत वातावरण तयार गर्न नसक्नु राज्यको कमजोरी हो भन्छु ।’ आफु दृष्टिविहिन भएर पनि केहि गर्न सक्छु भन्ने आत्मविश्वास लिएर मन दरिलो बनाएर अघि बढ्न खोज्दा पनि नेपाली समाज र यहांको प्रतिकुल वातावरणले आफु अपाङ्गता भएकोमा हिनताबोध गराउँन खोजेको बानियाँको गुनासो छ ।

त्यसैगरी, सरकारी कार्यालयहरुमा पनि राम्रो व्यवहार नगरिने, अभद्र व्यवहार गरिने र अपाङ्गता भएका व्यक्तिहरुलाई होच्याएर बोल्ने गर्नाले पनि आफुहरुलाई कमजोर महशुस गर्ने गरेको उनको भनाइ छ । कयौँ पटक सरकारी बैँकमा पैसा निकाल्न जाँदा अर्को आखाँ देख्ने मान्छे लिएर आउनु भनि आफुलाई फर्काइदिँदा आफु रुँदै फिर्किएको दिनहरु समेत www.sahayatratv.com सँग कुरा गरिरहँदा बानीयाँले आफ्नो दुखेसो पोखे ।त्यसैगरी दृष्टिविहिन व्यक्तिहरु अध्ययनमा चासो राखे पनि त्यसका लागी विद्यालय र क्याम्पसमा अपाङ्गमैत्री वातावरण नहुँदा उनीहरु समस्यामा पर्ने गरेको पाइएको छ । सुनेको भरमा मात्र अध्ययन गर्नुपर्ने बाध्यतामा रहेका दृष्टिविहिनका निम्ति परीक्षामा लेखक खोजी गर्न समेत विद्यालय वा क्याम्पसले सहयोग नगरिदिँदा उनीहरु हतोत्साहि हुने र पढाइ छोड्ने बाध्यतामा समेत पुग्ने गर्छन् ।

यी समस्याहरु त केवल केहि उदाहरणहरु मात्र हुन् । दृष्टिविहिनले हरेक क्षेत्रमा, हरेक ठाउँमा समस्या भोग्नु परेको छ । हाम्रो जस्तो साँगुरो सोचाइ भएको समाजमा एक त अपाङ्गता भएको व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण नै फरक छ, कुन पापको कारणले यस्तो जीन्दगी भोग्नु परेको भनि उनीहरुलाई हेयको दृष्टिले हेरिन्छ । यसो गर्दा दृष्टिविहिनका लागि जीवन जिउनु अत्यन्तै कष्ठप्रद देखिन्छ ।

अपाङ्गता भएकोमा निराश र उदास भएका मानिसहरुलाई हौसला र प्रेरणा दिनु भन्दा पनि हतोत्साहि बनाउन लागी पर्ने हाम्रो समाजको व्यवहारलाई नै समर्थन गरेझँै गरी राष्ट्रले पनि उनीहरुको निम्ति गम्भिर भएर सोचेको पटक्कै देखिदैन । दृष्टिविहिनहरुले समाज र राष्ट्रवाट हुने यस्तो घृणित व्यवहारले उनिहरुमा केहि गर्नुपर्छ भन्ने अठोट भन्दा पनि हिनताबोध हुने गरेको बताउंछन् ।

समाजका बौद्धिक वर्गको उचाईमा राख्ने व्यक्तिहरुको संकुचित सोचलाई चिर्दै आँफै संघर्ष गरेर जीवनमा केहि त गर्नुपर्छ भन्ने दृढ अठोटका साथ अघि बढेका दृष्टिविहिनहरुलाई राज्यले साथ नदिँदा, सहज र अपाङ्गमैत्री बातावरण तयार नगरिदिँदा समाज र राज्यले दृष्टिविहिनहरु आफ्ना जनता होईनन् भने जस्तो गरि सौताने व्यवहार गरिरहेको भान हुन्छ । यसर्थ, राज्यले देशका सम्पूर्ण नागरिकलाई समान ढंग र समान व्यवहार जवसम्म गर्न सक्दैन, तवसम्म त्यस देशको विकास र सम्वृद्धि असंभव प्राय छ ।

यो पनि पढ्नुहोस् 

गुन्द्रुक आयात हुन थालेपछि, कतै पहिचान पनि आयात गर्नु पर्ने दिन नआओस्

समाजसेवामा समर्पित एउटा जीवन

अराजकता, अनैतिकता र बेतिथिका लागि मेरो विरोध : डा.केसी

रजस्वला प्रक्रिया : अशुद्धताको उपनाम मात्रै

राष्ट्रिय जनावर गाईको सम्मान अभियान ! ! ! भाग–१

रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

‘म महिला हुँ’, के म कमजोर छु ?

हरियो वन नेपालको धन होईन भने, तस्करको धन हो कि त ???

कता जादैछ देश : खोई युवाशक्तिलाई अवसर ???

प्रकाशित : 23 July, 2018

प्रतिक्रिया दिनुहोस्