Author: sahayatra

  • कांग्रेसको घोषणापत्र – ‘नमूना स्थानीय सरकार’ को अवधारणा

    बैशाख १२, २०७४ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । लामो छलफल र सुझाव संकलनपछि कांग्रेसले पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरेको हो । घोषणा पत्र सार्वजनिक गर्दै सभापति शेरबहादुर देउवाले ‘नमुना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो । स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्ने मुद्दालाई कांग्रेसले पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, एक घर, एक रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ शैयाको सुविधासम्पन्न अस्पताल लगायतका कार्यक्रम घोषणापत्रमा उल्लेख भएको बताउनुभयो । यस्तै, ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्ने, महिला स्वयम्सेविकाको सुविधा वृद्धि, सबै वडा, टोल जोड्ने पक्की सडक, उज्यालो बस्ती,स्वच्छ ऊर्जा, घरघरमा खानेपानी धारा र शौचालय, फोहर व्यवस्थापन केन्द्र, सुरक्षा पोष्ट लगायतका विषयलाइ पनि कांग्रेसले प्राथमिकता दिएको छ । कांग्रेसले नेता महेश आचार्यको नेतृत्वमा गठित मस्यौदा समितिले घोषणापत्र निर्माण गरेको हो ।
    घोषणापत्रमा स्थानीय तहको अधिकारमा श्रोत पर्याप्त बनाउने विषय समेटिएको संयोजक आचार्यले जानकारी दिनुभयो । उहाँले तीन वर्षभित्र १० प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने, रोजगारी सिर्जना गर्ने, गाउँ तहमै उद्योग स्थापना र भएका उद्योगलाई प्रोत्साहन गर्ने, कृषि जडिबुटी, पर्यटन र जलस्रोतमा जनशक्ति परिचालनको योजना, शैक्षिक बेरोजगारलाई हरेक क्षेत्रमा सहुलियत दिने कार्यक्रममार्फत् समृद्धिको खाका निर्माण भएको बताउनुभयो ।

  • सरकारसंग एमाले रुष्ठ, संसद अवरूद्ध, चुनावको वातावरण बिथोलिने चेतावनी

    सरकारसंग एमाले रुष्ठ, संसद अवरूद्ध, चुनावको वातावरण बिथोलिने चेतावनी

    बैशाख १२, २०७४ । सरकारले गर्न लागेको संविधान संशोधन प्रक्रियामा नकारात्मक रहेको प्रमुख प्रतिपक्षी नेकपा एमाले सरकारसंग झन रुष्ठ भएको छ । सरकारले पहिलेको भन्दा झन खतरनाक संविधान संशोधन प्रस्ताव ल्याएको र संवैधानिक व्यवस्था विपरित तराईमा स्थानीय तहको संख्या बढाउन खोजेको एमाले व्यवस्थापिका संसद्को बैठक पनि अवरूद्ध गरेको छ । स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन खण्डित हुने गरी विभिन्न जिल्लामा कोटा बाँडेर परिपत्र गरेको एमालेको आरोप छ । बैठकको प्रारम्भमै समय लिएर बोल्दै सांसद गंगालाल तुलाधरले सो विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने बताएपछि एमाले सासंसदहरुले आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए । उहाँले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही जिल्लामा स्थानीय तहको संख्या बढाउन परिपत्र गरेको विषय सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
    निर्वाचन आयोगसंग असन्तुष्टि, संशोधन बिधेयक असफल पार्ने
    नेकपा एमाले स्थायी कमिटी बैठकले बजेट ल्याएर निर्वाचन गर्न मिल्ने भनी निर्वाचन आयोगले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले एक महिनाको अन्तर पारेर दुई चरणमा चुनाव गराउन खोज्नु र बजेट भाषणपछि बहुसंख्यक प्रदेशमा निर्वाचन गराउने योजना षडयन्त्रमूलक रहेको ठहर गरेको छ । बैठकले सरकारको षडयन्त्रको शिकार नबन्न आयोगलाइ आग्रह समेत गर्ने निर्णय गरेको छ । आयोगमा संसदीय दलका उपनेता सुवास नेम्वाङ सहितको टोलीले गम्भीर आपत्ति सहितको लिखित असहमति दर्ज गर्ने छन । बैठकका अध्यक्ष केपी ओलीले जेठ १५ गते चुनावी बजेट पेश गरेर त्यहि बजेटको भाषण गर्दै भोट माग्न जाने सत्तापक्षको षडयन्त्रलाई कुनै हालतमा सफल हुन नदिने बताउनु भएको थियो । बैठकले सरकारले संसदमा पेश गरेको संविधान संशोधन बिधेयक पारित हुन नदिने समेत निर्णय गरेको छ ।

  • संसदमा आज संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल, एमालेले अवरोध गर्ने 

    संसदमा आज संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल, एमालेले अवरोध गर्ने 

    बैशाख १२, २०७४ । व्यवस्थापिका संसदको बैठका आज सरकारले हिजो पेश गरेको संविधानको दोस्रो संशोधन विधेयकबारे सैद्धान्तिक छलफल हुँदैछ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहितका तराई केन्द्रीत दलको माग सम्बोधन गर्न सरकारले पेश गरेको विधेयकमाथि आजदेखि सैद्धान्तिक छलफल हुन लागेको हो । सदनले सो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेपछि सांसदले संशोधनका लागि ७२ घण्टाको समय पाउनेछन् । सरकारले तराई केन्द्रीत दलसंग गरेको सहमति अनुसार संशोधन प्रस्तावमा परिमार्जन राख्ने तयारी गरेको छ । दोस्रो संविधान संशोधन विधेयक खतरनाक भएको भन्दै बिपक्षी एमालेले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

  • मुम्बई ३ रनले हा¥यो, पुनेको रोमाञ्चक जित

    मुम्बई ३ रनले हा¥यो, पुनेको रोमाञ्चक जित

    बैशाख १२, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएलमा राइजिङ पुने सुपरजायन्ट विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति पुनेले मुम्बई इण्डियन्स माथि तीन रनको रोमांचक जित निकालेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित बीस ओभरमा आठ विकेटको नोक्सानीमा १ सय ५७ रनमात्र जोड्न सक्यो । उसका लागि कप्तान रोहित शर्माले ५८ रन बनाए । बलिङमा पुनेका जयदेव उनधकट र बेन स्टोक्सले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुनेले निर्धारित बीस ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ६० रन बनाएको थियो । उसका लागि राहुल त्रिपाठीले ४५ तथा अजिंक्या राहानेले ३८ रन बनाए । बलिङमा मुम्बईका कर्ण शर्मा र जसप्रित बुम्राहले समान दुई–दुई विकेट हात पारे । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्जर्स बेङ्लोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।।।

  • कोरियाबारे अमेरिकी सिनेटमा छलफल

    कोरियाबारे अमेरिकी सिनेटमा छलफल

    बैशाख १२, २०७४ । उत्तर कोरियाको आणविक गतिविधिका विषयमा अमेरिकी सिनेट बैठकमा छलफल हुने भएको छ । उत्तर कोरियाले अमेरिका लगायत छिमेकी राष्ट्रहरुलाइ मिसायल परीक्षण गर्दै धम्काउन थालेपछि अमेरिकी सिनेटमा छलफल हुन लागेको हो । अमेरिकाले उत्तर कोरियाको मिसायल परीक्षण र आफू लगायत छिमेकी राष्ट्रलाइ धम्क्याएको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सिनेटमा बैठकमा १ सय सिनेटरसहित रक्षा सचिव जेम्स म्याटिस र राज्य सचिव टिलेरसन पनि सहभागी हुनेछन । अमेरिका लगायत बिभिन्न शक्ति राष्ट्रले उत्तर कोरियासंगको साँठगाठबाट चीनलाइ बाहिरिन दवाव दिंदै आएका छन । यो विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच आइतबार मात्रै टेलिफोनमा कुराकानी भएको थियो । चीनले तनाव बढाउने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताउ“दै आएको छ ।