निर्वाचन प्रक्रिया सुरु, मनोनयन जारी
१९ बैशाख,आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएको छ । निर्वाचनका लागी आज २ सय ८३ स्थानीय तहमा उमेद्वारको मनोनयन दर्ता सुरु भएको हो । आयोगले पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका ती स्थानीय तहमा निर्वाचन गर्दैछ । आयोगले मनोनयन दर्ताका लागी बिहान १० बजेदेखी ५ बजे सम्मको समय छुट्याएको छ । उमेद्वारको मनोनयन लगत्तै आजै सा“झ उम्मेद्बारको सूची प्रकाशित गरिनेछ । भोलिसम्म दाबी बिरोधको समय दिइएको छ । आयोगले २१ गते नाम फिर्ताको समय दिने बताएको छ । त्यस्तै २२ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र सोहि दिन चुनाव चिन्ह प्रदान गर्ने आयोगको तयारी छ ।
Category: ब्रेकिङ न्युज
-

निर्वाचन प्रक्रिया सुरु, मनोनयन जारी
-
प्रहरी महानिरीक्षक सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित
बैशाख १९, २०७४ । प्रहरी महानिरिक्षक नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । सुनुवाईको अर्को मिति तय भएको छैन । प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेशविपरित सरकारले निर्णय गरेको दाबी गर्दै सिलवालले गत चैत १९ गते रिट दायर गर्नुभएको थियो ।
-

तीन प्रदेशका लागि आज उम्मेदवारी मनोनयन
बैशाख १९, २०७४ । स्थानीय तहको निर्वाचनका लागि आज बिभिन्न तीनवटा प्रदेशमा उम्मेदवारी मनोनयन गरिदैछ । निर्वाचन कार्यतालिका अनुसार बिहान दश बजेबाट उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले वैशाख ३१ गते तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहका लागि उम्मेदवारी दर्ता हुने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनलाई पर्वका रूमा लिएर उत्साहका साथ उम्मेदवारी दर्ता गराउन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसंग आग्रह गर्नुभयो । आयोगले आजैबाट उम्मेद्वारहरुलाई आचार संहिता लाग्ने जनाएको छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारका लागि समेत स्वतः निर्वाचन आचारसंहिता लागू हुने यादवले बताउनुभयो ।
चुनाव हुने प्रदेश र जिल्ला–
प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् ।
त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।
पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् । -
महाअभियोग तरंग– राप्रपा सरकारबाट बाहिरियो, संकटमा निर्वाचन
बैशाख १८, २०७४ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दलहरु पक्ष र बिपक्षमा बाँडिएका छन । सत्तारुढ दल राप्रपाले महाअभियोग प्रस्तावप्रति असहमति जनाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ । बिहान र साँझ गरी दुइ पटक पार्टी कार्यालय धुम्बाराहीमा बसेको सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । सम्पादन समितिमा सरकारबाट बाहिरिने विषयमा एकमत हुन सकेको थिएन । सो पार्टीले संविधान संशोधन र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन भने सहयोगी भूमिका खेल्ने स्पष्ट पारेको छ । राप्रपा अध्या कमल थापाले सरकारमै सहभागी दललाइ समेत जानकारी नगराइ छापामार शैलीमा प्रस्ताव ल्याएपछि आफूहरु सरकारमा बसिरहनुको औचित्य समाप्त भएको प्रतिक्रिया दिए ।

उता, प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ताव उचित भन्दै यसको बचाउ गरेका छन । बिपक्षी नेकपा एमालेले यसको कडा प्रतिवाद गरेको छ । हालै गठित मधेश केन्द्रीत दलहरुको राष्ट्रिय जनता पार्टी मौन बसेको छ । महाअभियोगको प्रस्तावको जनस्तरबाट सर्वत्र आलोचना भईरहेका बेला कांग्रेसले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन महाअभियोग प्रस्ताव दर्ता गरिएको दाबी गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चुनाव प्रचार उपसमितिको पत्रकार सम्मेलनमा नेता रमेश लेखकले शक्ति पृथकिकरणको सिद्धान्तलाई जीवन्त बनाउन कंग्रेसले सो कदम चालेको उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश कार्कीले कार्यपालिकाको क्षेत्राधिकार भित्र हस्तक्षेप गरेकाले महाअभियोग प्रस्ताव ल्याउनु परेको उहाँको जिकिर थियो । शान्ति सुरक्षा कायम गर्न आईजीपी नियुक्त गर्ने निर्णय सरकारको भएको बताउँदै नेता लेखकले सर्वोच्चमा झुटो विवरण पेश गर्ने व्यक्तिको पक्षमा प्रधानन्यायाधीशले फैसला गरेको आरोप लगाउनुभयो । उता, नेकपा माओवादी केन्द्रले महाअभियोग प्रस्तावलाइ ‘उचित’ ठहर गर्दै यसलाइ पारित गराउन अन्य दलहरुसंग संवाद तीव्र पार्ने निर्णय गरेको छ । बिहान बसेको केन्द्रीय कार्यालय बैठकमा यस्तो निर्णय भएको नेता मणि थापाले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने न्यायालयमाथि नियोजित रुपमा हमला भएको भन्दै भ्रातृ संगठनलाइ सडकमा उतारिसकेको छ । राजधानी काठमाडौंसहित देशका मुख्य शहरमा एमालेका भ्रातृ संगठनले बिरोध प्रदर्शन सुरु गरिसकेका छन । एमालेले यसलाइ अधिनायकवादको पूर्वाभ्यासको संज्ञा दिएको छ । महाअभियोग प्रस्तावले दलहरु बिभाजित भएपछि बैशाख ३१ र जेठ ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन हुन्छ वा हुँदैन भन्ने संशय उत्पन्न भएको छ । यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहालले कुनैपनि हालतमा निर्वाचनका कार्यक्रम प्रभावित नहुने प्रतिबद्धता जनाएका छन तथापी बढ्दो राजनीतिक ध्रुवीकरण र घटनाक्रमले निर्वाचनको सम्भावनालाई न्यून बनाउँदै लगेको देखिन्छ । -

नयाँ शक्तिको घोषणा पत्र सार्वजनिक– मुलुकको समृद्धि प्रमुख लक्ष्य
बैशाख १८, २०७४ । संघीय समाजवादी फोरमको चुनाव चिन्हमा निर्वाचन लडन लागेको नयाँ शक्ति नेपालले पनि आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी स्थापनादेखि नै समृद्धिको नारा बोकेको नयाँ शक्तिले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षे, १५ वर्षे र २५ वर्षे योजना बनाएको छ । २५ वर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पु¥याउने पार्टीको लक्ष्य छ । नयाँ शक्तिले ‘समृद्धि’ लाइ नै प्रमुख लक्ष्य बनाएको छ । नेपालका सबै जाति, क्षेत्र, लिंग, समुदाय, वर्गको साझा चाहना र पहिलो आवश्यकता विकास र समृद्धि नै भएको घोषणापत्रमा उल्लेख छ । कमसेकम दुई दशक निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने विकास नीति, आर्थिक वृद्धि र समन्यायिक वितरणको गतिशील सन्तुलन, वातावरणीय संरक्षण तथा प्राकृतिक सम्पदाको उपभोगमा वैज्ञानिक नीति अवलम्बन गर्ने नीति पार्टीले लिएको छ ।
घोषणापत्रका प्रमुख विशेषता –- अवको ५ वर्ष अर्थात् सन् २०२२ सम्ममा आम गरीवीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नती गर्ने ।
- सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरू हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने ।
- सन् २०४० सम्ममा मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पु¥याउने ।
ड्ड प्रतिव्यक्ति औसत आम्दानी २,००० डलर पु¥याउने । - कूल गार्हस्थ बचत कूल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पु¥याउने ।
- निरपेक्ष गरीबीको रेखामुनि रहेका जनसंख्यालाई १० प्रतिशतमा झार्ने ।
- कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको २० प्रतिशत र उत्पादन क्षेत्रको योगदानलाई १५ प्रतिशत पु¥याउने ।
- वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ उत्पादनको २० प्रतिशत पु¥याउने, आयातलाई ३० प्रतिशतमा झार्ने ।
माथि उल्लेखित लक्ष्यहरु हासिल गर्न कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, ठूला पूर्वाधारहरुको तीब्र विकास र विस्तार, उत्पादनशील उद्योगहरूको विकास, पर्यटन तथा अन्य सेवामूलक क्षेत्रको गुणस्तरीय विकास र विस्तार, दक्ष जनशक्ति उत्पादन, सन्तुलित वित्त व्यवस्थापन र ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका माध्यमबाट दुई अंकको वृद्धिदर हासिल गर्ने कार्ययोजना बनाइनेछ ।
अन्य पार्टीप्रतिको दृष्टिकोण–- नेपाली कांग्रेस गणतान्त्रिक आन्दोलनको मुख्य शक्ति भनेर भ्रम छर्न खोजिरहेको ।
- नेकपा एमालेः सामाजिक फासीवादी
- माओवादी केन्द्रः ‘लम्पसारवादी’
- राप्रपाः ‘जता मल्खु, उतै ढल्कु’
- मधेसकेन्द्रित दलः राष्ट्रिय भावना आत्मसात गर्न नसक्ने
-

एमालेको घोषणापत्रमा– विकास र समृद्धिका योजना
बैशाख १८, २०७४ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आफनो घोषणा पत्र सार्वजनिक गरेको छ । मुलुकको राजनीति रहस्यपूर्ण रुपमा परिवर्तनहुँदा निर्वाचन नै अन्योलग्रस्त भएकाबेला एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो । पार्टी कार्यालय धुम्बाराहीमा विशेष समारोहकाबीच अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गर्नुभयो । एमालेले आफ्नो घोषणापत्रमा विकास र समृद्धिका योजनालाई बढी प्राथमिकतामा राखेको छ । घोषणापत्रमा स्थानीय तहलाइ शक्तिशाली, अधिकारसम्पन्न बनाउने, राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र राष्ट्रियताको सुदृढीकरण लगायतका विषय उल्लेख गरिएको छ । यस्तै, गाउँ र नगरमा सामाजिक–आर्थिक रुपान्तरण र विकासको महाअभियान सुरु गर्ने योजना छ । घोषणापत्रमा ०५१ सालको मनमोहन अधिकारी र २०७२ सालको केपी ओली सरकारले ल्याएका अधिकांश कार्यक्रमलाई निरन्तरता दिइएको छ । ओली सरकारका पालामा संचालन गरिएका योजनालाइ पनि घोषणापत्रमा समेटिएको छ । ‘आफनो गाउँ आफै बनाऔं’, ‘९ स को अभियान’ र ‘सामाजिक सुरक्षा भत्ता’ लगायतका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषय पनि समेटिएको छ । यस्तै, ‘सुरु पाँचबर्षको अवधिमा नेपाली अर्थतन्त्रलाई प्रतिव्यक्ति आम्दानीका दृष्टिले दक्षिण एशियाको अग्रणी स्थानमा पु¥याउने, १० वर्षपछि नेपाली जनताको प्रतिव्यक्ति आम्दानी १० हजार अमेरीकी डलर भन्दा बढी पु¥याउने, १० वर्षमा नदी प्रवाह प्रणालीबाट १० हजार, जलाशययुक्त परियोजनाबाट २५ हजार, जैविक ऊर्जाबाट करिव १० हजार, हाइड्रोजन ऊर्जाबाट करिव १० हजार र सौर्य ऊर्जाबाट करिव २ हजार गरी जम्मा करिव ५७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणापत्रमा उल्लेख छ । आगामी ५ बर्ष भित्र सम्पन्न हुने गरी उच्चस्तरको प्रविधि प्रयोग गरेर सबै राजमार्गहरुको विस्तार तथा स्तरोन्नत गर्ने कामलाई उच्च महत्वकासाथ बढाउने एमालेको योजना छ । यस्तै, १ हजार कि.मी. तीव्र गतिको अत्यधुनिक रेल सञ्चालन गर्ने, १० वर्षमा दैनिक ५ लाख यात्रीहरु आवतजावत गर्ने गरी हवाइ यातायात सेवाको संरचना विकास गर्ने घोषणापत्रमा उल्लेख छ । एमालेले उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा घोषणापत्र लेखन समिति गठन गरेको थियो ।