सार्वजनिक सवारीको यात्रा : महिलालाई मानसीक तनाव मात्र
सहायात्राटीभी : आजभोलि कुनै दिन बलात्कारका दुखद घटनाका समाचार बाहिर आउँछन् त कुनै दिन आफ्नै श्रीमानबाट बलात्कारमा परेका महिलाहरुको प्रहरीमा उजुरी परेको घटना । कहिले महिला बोक्सीको आरोपमा कुटिन्छन् त कहिले महिनावारी भएको समयमा छाउगोठमा रात विताउँदा गोठभित्रै बलात्कार गरेर विध्वसं तरिकाले हत्या गरिएका वा सर्पले डसेर मृत्यु भएका समाचार आउछन् । यस हिसावले हेर्ने हो भने आजको यो २१ औं शताव्दीमा पनि महिलाहरु पछि पर्नु यस्तै कारण हुन । यस्ता खाले समस्या समाधान गर्ने हो भने महिला समान रुपमा पुरुष सरह अघि बढ्न सक्छन् । तर बाहिर देखिएका र झट्ट हेर्दा ‘ओहो’ भनिने समस्या मात्र समस्या होइनन् । यहाँ महिलाहरु अघि बढ्न नसक्नुमा प्रत्येक पाइला पाइलामा समस्याहरु बाधा बनेर उभिएका हुन्छन्, प्रत्येक महिलाहरुका लागी ।
महिलाहरु स्कुल, क्याम्पस, कार्यालयदेखि सार्वजनिक सवारी वा बाटोमा यात्रा गर्दासमेत अनेकन दुव्र्यव्हारवाट प्रताडित भइरहेका हुन्छन् । विहानदेखि सांझसम्म एक महिलाको कार्यतालिकामा प्रत्येक समय र प्रत्येक ठाउँमा कुनै न कुनै रुपबाट महिलाहरुमा मानसिक रुपमा प्रताडित भईनै रहन्छन् । दिनहुँ हुने यस्ता खाले मानसिक तनावको न त महिलाहरुले आफुमा के भइरहेको छ हेक्का राख्न सकेका छन् न त उनीहरुको पिडा कसैले बुझिदिन नै ।
दिनहुँ बालिकादेखि वृद्ध आमाहरुसमेत बलात्कारको शिकार बनिरहँदा सम्बन्धित निकायले गम्भिर भएर नसोचिरहेको अवस्थामा अप्रत्यक्ष रुपमा हुने महिला हिंसा र महिलाहरुमा पर्ने मनोवैज्ञानिक असरमा कसैको ध्यान जान सकेको देखिदैन । तर महिलाहरु हतोत्साही हुनु र कमजोर महसुस गर्नुमा भने उनीहरुमा पर्ने मनोवैज्ञानिक हिंसाको प्रभाव पनि एक गम्भिर समस्या हो भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी देखिन्छ ।
महिलाहरु जब क्याम्पस पढेर अथवा कार्यालयबाट घर फर्कन्छन्, घर पुग्दासम्मको एक डेढ घण्टा उनीहरुका लागी एक जुनी भएर अगाडि उभिएको हुन्छ । बाटामा हिँड्दा होस या गाडिमा यात्रा गर्दा एक पटक होइन पटक पटक पुरुषहरुको खराव दृष्टि, अनावश्यक रुपमा महिलालाई जिस्काउने, संवेदनशिल अंगमा छुन खोज्ने जस्ता घटनाहरुवाट महिलाहरु बढि प्रभावित बन्ने गरेका छन् ।
काठमाण्डौं उपत्यकाका सार्वजनिक सवारीमा भेडावाख्रा सरह मानिसलाई ठेलमठेलको भिडमा उभिएर गर्नुपर्ने यात्रा त हाँसि हाँसि गर्न सक्लान तर त्यहि भिडभित्र मौकाको फाइदा उठाउनेहरुबाट हुने पिडा भने असह्य हुन्छ महिलाहरुका लागी । नजानिदोँ पाराले ठोक्किन आउने, छुने, अप्रत्यक्ष रुपमा जिस्काउने, गलत नजरले शरिरमा नियाल्ने र हेर्ने गर्नाले कहिले काहिँ त हिँड्न नै छाडौँ जस्तो पनि लाग्ने गरेको महिलाहरु बताउछन् । बोलौँ भने भिडमा बाध्यता हो भनेर टारिदेलान् नबोलौँ भने सहन गाह्रो हन्छ । यस्तो अप्रत्यक्ष रुपमा हुने हिंसाले प्रत्यक्ष रुपमा हुने हिंसाले भन्दा बढि नै तनाव दिने गर्छ महिलाहरुलाई ।
यस्ता सबै गतिविधि सहेर घरसम्म पुग्दाको महिलाको मानसिकता कस्तो होला, उसमा सकारात्मक भन्दा नकारात्मक कुराको हाबी हुँदै गई दिनप्रतिदिन हतोत्साह र निरासाबाहेक अन्य केहिको वृद्धि विकास हुन सक्दैन । महिलाहरु चुपचाप जस्ले जे भने पनि सहेर र पचाएर हिँड्नु बाहेक उनिहरुसँग अन्य कुनै उपाय हुँदैन ।
बास्तवमा यस्ता घटना र तनावले नै महिलाहरुमा मनोवैज्ञानिक रुपमा नकारात्मक असर परि महिलाहरु हतोत्साहि बन्न पुग्छन् । आफुलाई छोरी भएकोमा गर्व गर्ने र छोरी भएर पनि केहि गरेर यो समाजलाई देखाउँछु भन्ने महिलाहरुलाई पनि हरेक पाइला पाइलामा यस्तै समस्या र बाधाहरुले छोरी छोरी नै हो भन्ने स्मरण गराउँदछ ।
बाटोमा यात्रा गर्दा हुने यस्ता समस्याहरु प्राय सबै महिलाहरुले दैनिक रुपमा भोग्ने समस्या हुन् । यसले उनीहरुमा अनावश्यक तनाव सृजना गर्छ, मनोवैज्ञानिक प्रभाव पार्छ तर उनीहरुले पनि यो एक ठूलो समस्या हो भन्ने कुरा भने गम्भिर भएर सोचेका हुँदैनन् ।
महिलाहरुलाई जिस्काएर, अभद्र व्यवहार गरेर र गिज्याएर आफु आत्मसन्तुष्ट हुनेहरुले पनि कहिल्यै सोचेन कि आफुहरुले गरिरहेको व्यवहारबाट ती महिलाहरुमा कति मानसिक तनाव होला ! महिलाहरुलाई बाटोमा बसेर कुदृष्टि लगाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जिस्क्याउनेहरुले कहिल्यैै सोचेनन् कि सँधै यहि बाटो हिँड्ने केटि आजभोलि देखिन छाड्नुमा आफुले जिस्काउनु नै कारण हो भनेर ।
हामीले महिलाहरु पछि पर्नुमा सँधै ठूल्ठूला मुद्दाहरुलाई नै कारण बनाइ रह्यौ । तर महिलाहरुलाई सबैभन्दा बढि असर पार्ने यस्ता कारणका पछाडि कसैले पनि गम्भिर भएर सोचेको पाइएको छैन् ।
हो सरकारले त नीति नियम बनाइदिएको छ, कसैले लामो समय एकोहोरो हे¥यो भने पनि त्यो महिला हिंसा अन्तर्गत पर्छ, यौन हिंसा अन्तर्गत पर्छ भनेर । तर फेरि किन सम्बन्धित निकायले कहिलै फर्किएर सोचेन कि यस्ता नियम बनाइसकेपछि पनि किन कुनै महिलाका उजुरी परेका छैनन् यस विषयमा ! हाम्रो समाज यति सभ्य भइसक्यो र ! भन्ने बारे किन कहिल्यै हेक्का राखेन, जसले नीति बनाएर मात्र कानुनका पानाहरुमा सिमित बनाइदियो ।
यस्तो समस्यालाई कुनै पुरुषले समस्या नमान्न सक्छन् । यसलाई नभोग्नेहरुले यसको पिडालाई महसुस नगर्न सक्छन् । सम्बन्धित ठाउँमा पुगेका महिला र उनीहरुका छोरीहरुले पनि यस्ता समस्या नभोग्नु पर्ला । यस्तो हो भने महिलाहरुका यस्ता समस्या बुझ्ने कस्ले !
राज्यले यस विषयमा गम्भिर भएर नसोचेसम्म महिलाहरु समान रुपमा अघि बढ्न सक्दैनन् । महिलाहरु समान रुपमा अघि बढ्न नसक्नु राष्ट्रले गति लिन नसक्ने संकेत हो ।