बेफुर्सदिलो काठमाण्डौं…………अनि स्वार्थी मानिस
सहायात्राटीभी : जीवन भोगाइ हो, भोग्न पर्छ । वास्तविक जीवनको भोगाइ र जीवनको वास्तविक अर्थ काठमाण्डौंले राम्रैसँग पढाउँछ मान्छेहरुलाई । धनि देखि गरिबसम्म, पजेरु चढ्नेदेखि गाडि भाडा नभएर पैदल यात्रा गर्नेहरुसम्म अनि घरधनिदेखि भाडामा बस्नेहरुसम्म सबैको दिनचर्या, सबैको संघर्ष र सबैको जीवनको भोगाइलाई राम्रैसँग नियाल्न सकिन्छ यहां केहि बेर आफुलाई फुर्सदिलो बनाउने हो भने तर त्यति फुर्सद कस्लाई पो होला र !
दसैँ, तिहार जस्ता चाडपर्वको समयमा सुनसान हुने काठमाण्डौं शहरले प्रस्ट बताउँछ कि, अधिकांश मानिसहरु उपत्यका बाहिरका छन् भनेर । अनेकौँ सपना र उद्देश्य लिएर काठमाण्डौं आउनेहरुले काठमाण्डौं आएपछि वास्तविक जीवन बुझ्छन्, परिवारको आवश्यकता बुझ्छन्, समयको महत्व बुझ्छन् अनि पैसा र कामको महत्व पनि ।
देशको राजधानी काठमाण्डौं शहर कसैको लागी स्वर्ग अनि कसैको लागी नर्क, कसैको लागी पैसा कमाउने थलो त कसैको लागी पैसा गुमाउने । देशका धनाढ्यदेखि अति गरिब पनि यहि शहरमा भेटिन्छन्, ठूल्ठूला डाक्टर पनि यहि शहरमा छन् भने ठूल्ठूला रोगका शिकार भएका विरामीहरु पनि यहि शहरमा छन् । मन चलाउने भन्दा पनि मस्तिष्क चलाउनेहरुको यो भिडमा कसैले कसैलाई चिन्दैन्, चिने पनि बोल्दैन् । यो शहरले केवल काम र पैसा चिन्छ । पैसा भए भावना, मायां, भातृत्व लगायत सब थोक किन्न पाइन्छ यहाँ आमा र बुबा बाहेक ।
विहान उठ्यो पढ्न जाने पढ्न जान्छन्, काम वा कार्यालय जानेहरु खाना, खाजा बनायो खायो काममा गयो बेलुका फर्कियो खाना बनायो खायो सुत्यो, बिहान हुन्छ अनि उहि चक्र दोहोरिन्छ फेरि । पढ्ने, काम गर्ने सबैको दैनिकी यसरी नै चलेको छ यहाँ । यो शहरमा कोहि नभएर खाँदैनन् त कोहि भएर पनि फुर्सद छैन, खाँदैनन् । नभएर नखानु स्वभाविक हो भएर पनि रोगले ग्रस्त भएर अथवा कामले व्यस्त भएर खान नभ्याउनु भनेको समयको सहि व्यवस्थापन नहुनु नै हो ।
गाउँघरमा पल्लो गाउँको कोहि बिरामी भयो भने दौडिएर सहयोग गर्न पुग्नेहरु पनि यहाँ वल्लो कोठा पल्लो कोठाकोसँग परिचित हुँदैनन् । सहयोग गरेर साध्य पनि हुँदैन । गाउँमा आफ्नो काम मायां मारेर भए पनि कसैको सहयोगको निम्ति ज्यान दिन तयार हुनेहरु यहां सडकमा अलपत्र परेर विजोग भएको मानिस देख्दा पनि कार्यालय, काम, विद्यालय, क्याम्पस ढिला होला भनेर देखेको नदेख्यै गरि हिँड्छन् । माग्नेहरु आए भने चामल, पैसा दिने, खाना, खाजा खुवाएर पठाउने, राति भए बास बसाउनेहरुलाई पनि यो शहरले निष्ठूरी बनाइदिन्छ, अनि माग्ने अति नाजुक अवस्थाका मानिसहरुलाई पनि लत्याएर हिँड्ने बनाउँछ यो शहरले ।
पैसा हुनेलाई अझ बढाउने लालसा, छोराछोरी नसम्हालिएकोमा पिडा, रोग लागेकोमा पिडा पैसा नहुनेलाई आवश्यकता पुरा गर्न नसकेकोमा पिडा, जागीर नहुनेलाई जागीर नभएकोमा पिडा, हुनेहरुलाई हाकिम रिझाउनुपर्ने पिडा । भाडामा बस्नेहरु दिनभरि कमाएर ल्याइ घर चलाउँछन्, घर भाडामा लगाएर एउटा फ्ल्याटमा परिवार अटाउने घरवालाहरु भाडावालाहरुसँग चानचुन पैसा उठाएर घर चलाउँछन् । कोहि बाटोमा गित गाइ दैनिकि चलाउँछन् त कोहि रेष्टुरेन्ट र दोहोरि साँझहरुमा गाएर, कोहि सडकमा नाचेर त कोहि बार, रेष्टुरेन्टमा नाचेर÷ झुमेर जीवन चलाउँछन् । छोराछोरीलाई हेर्ने फुर्सद नभएर होस्टल राख्ने बाबुआमा अनि बाबुआमा स्याहार गर्ने फुर्सद नभएर वृद्धाआश्रम राख्ने छोराछोरी पनि यहि शहरमा छन् । दिनभर इट्टा बोक्नेहरु अनि इट्टा बोकाउनेहरु, सजिएर कार्यालय जाने चेलिहरु अनि सजिएर नै शरिर बेच्न जाने चेलिहरु, दिनभर गाँजा र चरेसको नसामा बस्नेहरु अनि दिनभर पानीको भरमा मेहनत गर्नेहरु सबैको आफ्नै आफ्नै जीवन अनि आफ्नै आफ्नै जिवन भोगाई र संसार छ यो काठमाडौं शहरभित्र ।
भावना, मानवियता, संस्कार, रितिरिवाज, एकता जस्ता कुराहरुमा निकै अघि रहेका नेपालीहरु विस्तारै अधुनिकिकरण र शहरिकरणतर्फ आकर्षित हुदैँ जाँदा असामाजिक हुदैँ जाने सहयोग, मानवताको भावना हराउँदै जाने क्रम बढ्दो छ । काम र पैसामा व्यस्त मानिसहरुमा चाडपर्व, सामाजिक एकता, एकअर्र्कामा सहयोग गर्ने कार्यतर्फ मन घट्दै गएको देखिन्छ ।
आफ्ना आफन्तलाई दिने समय, बाबुआमाले छोराछोरी र छोराछोरीले बाबुआमालाई दिने समय, मानिस मर्दा मलामी जाने समय, परिवारमा कोहि बिरामी हुँदा हेर्ने समय पनि कसैले कसैको लागी निकाल्न सक्दैनन् । झनै नयां टेक्नोलोजीको विस्तारले त आम मानिसलाई यति व्यस्त बनाईदिएको छ कि, मोवाईल, ल्यापटप, ग्याजेटमा मानिस घण्टौं समय दिन सक्छन् तर कसैलाई पर्दा दुखमा साथ दिन, घरपरिवारमा समय दिन कोहि तयार छैनन् । यो नयां टेक्नोलोजीको विस्तारले ल्याएको दुरुपयोग हो । यस्तै अवस्थाले जरा गाड्दै जाने हो र हामीले आफु कता तिर जाँदै छु, समाजलाई मैले कता तिर लैजाँदै छु भन्ने विषयमा एक पटक पनि नसोच्ने हो भने एक दिन मानिसमा मानवता भन्ने कुरा नै हराएर जान्छ, दुख, पिडा, मायां, ममताको वास्तविक महशुस नै थाहा पाउन छाड्छन् भन्दा पनि फरक नपर्ला । त्यो समय अव अवष्य आउनेछ, अनि एउटा जनावर र मानिसमा कुनै भिन्नता नहुने अवस्था सृजना हुनेछ ।