स्वदेशमै पसिना वगाऔं, नेपाललाई कृषि प्रधान देश बोलीमा होईन व्यवहारमा बनाऔं
सहायात्राटीभी : दिनानुदिन दक्ष जनशक्ति विदेशिने क्रम रोकिएको छैन । हामीले आफूले पनि मेहनत गर्ने हो भने र सरकारले पनि वातावरण तयार गरेर थोरै मात्र सहयोग गर्ने हो भने कुनै पनि नेपाली युवाहरु कामको खोजीमा सात समुन्द्र पारी भौतारिनु र पसिना वहाउनुपर्ने थिएन । विदेश जानका लागी खर्च गर्न तयार हुने लाखौँ रुपयाँको सदुपयोग गरेर विदेशमा वहाउने पसिना र रगत परिवारका साथ बसेर आफ्नै भुमिमा वहाउन तयार हुने हो भने व्यक्तिगत रुपमा त आर्थिक, पारिवारिक र सामाजिक सुख मिल्छ नै देशको विकासमा समेत टेवा पुग्नेमा कुनै दुई मत छैन ।
हामी भन्ने गर्छौँ नेपाल कृषि प्रधान मुलुक हो तर पछिल्ला समयमा नेपालमा नै प्रयाप्त उत्पादन हुन सक्ने खाद्यन्न तथा नगदे कृषि उत्पादनदेखि माछामासु लगायतका सामाग्रीहरु सवै अत्याधिक मात्रामा आयात भइरहेका छन् । कृषि प्रधान मुलुकमा नै सम्पूर्ण कृषि उपज आयात गरिनु निकै हाँस्यास्पदका साथै दयानिय अवस्था पनि हो । चामल किनेर खानेहरुले आफुमा गर्व गर्लान, सब थोक किनेर खान्छौँ भनेर तर किनेर खानु गर्वको कुरा होइन कमजोरी हो भन्ने पनि भुलिरहेका छौं । यो कुरा नेपालीहरुले कहिले बुझ्ने हो ? एक दिन भोकमारी लागेको दिन बुझ्न त सबैले बुझ्लान्, तर त्यो दिन धेरै ढिला भइसकेको हुनेछ ।
नेपालमा पर्याप्त मात्रामा खेतीयोग्य उर्वर जमिन छन् । खोलानाला प्रसस्त भएकाले खासै पानीको समस्या पनि छैन् । वनजङगल खेतीपाती भएकाले घाँसपातको पनि खासै समस्या छैन् । दिनप्रतिदिन कृषि सामाग्रीहरुको आयात हुने क्रम बढ्दो छ । यसले पनि कृषि क्षेत्रमा पर्याप्त अवसर औँल्याइरहेको छ । तर हामी आफ्नै भूमिमा भएको सुनको बोटलाई चिन्न नसकेर सात समुन्द्र पारि चाँदिको फल टिप्ने सपनामा विलिन भइरहेका छौँ ।
पढेलेखेका शिक्षित युवाहरु खेतिपातिलाई पेसाको रुपमा स्वीकार्न चाहँदैनन् । घरपरिवारले पनि यतिका दुख गरेर पढाएका छोराछोरी खेतिपातिबाट टाढा नै रहुँन भन्ने सोच्छन् भने हाम्रो समाजले पनि पढेका मान्छेले कृषिलाई अंगालेको पचाउन सकेको छैन । यहि साँगुरो सोच र संकुचित मानसिकताले गर्दा नै हामी पछि परिरहेका छौँ ।
यदाकदा खेतिपति नगर्ने पनि होइनन्, गाँउघरमा अधिकांश मानिसहरुको पेसा नै खेतिपाती, गाईबस्तुपालन हुन्छ । तर त्यो परम्परागत शैलीमा आधारित भएकाले दुख बढि र परिणाम कम देखिन्छ जसले गर्दा ती किसानहरुले आफ्ना छोराछोरीलाइ कृषिबाट टाढा राख्ने सोच्दछन् । नेपालका अधिकांश कृषकहरु परम्परागत शैलीमा खेतीपाती गर्छन् । कृषि पेसामा आधुनिकिकरण र व्यवसायिकताले स्थान लिन अझै सकेको छैन् । फलस्वरुप उत्पादकत्वमा वृद्धि हुनुको सट्टामा दिनप्रतिदिन ह्रास आउन थालेको छ ।
आधुनिक प्रविधि र उपकरणको प्रयोगद्धारा आधुनिक शैलीमा व्यवसायिक रुपमा कृषि पेशालाई अंगाल्ने हो भने एक कृषकको मात्र होइन नेपालकै भविष्य उज्वल हुने निश्चित छ । यसप्रति आजका युवावर्गले ध्यान दिनुको साथै राज्यको तर्फबाट पनि सहज वातावरण तयार गरिनु आवश्यक छ ।
आफ्नो देशमा उत्पादन भएका फलफुल तथा तरकारीहरु ढुवानीको अभावमा गाईवस्तुलाई खुवाएर, कुहिएर खेर गईरहेका छन् भने शहरी क्षेत्रमा विदेशबाट आएका फलफुल र तरकारीले मङ्गो बजार भाउ पाइरहेको बिडम्बना हामीले धेरै पहिले देखि भोग्दै आएका छौँ ।
यस्तै उचित बजार भाउ नपाउने, ढुवानीको समस्याले उत्पादन खेर जाने र वर्षेनि घाटा लाग्ने, विभिन्न रोगहरुका कारण पशुपालनमा समस्या देखिने, कहिले पर्याप्त मलको अभाव त कहिले उन्नत जातका विउविजनहरुको अभावका कारण, आधुनिकिकरणको अभाव र यसप्रति युवावर्गले भविष्य नदेख्नु नै कृषि क्षेत्रले गति लिन नसक्नुको मुख्य कारण बनेको छ ।
यसरी नै नेपाली युवाहरु कृषिबाट टाढिदै जाने हो र यहि क्रममा कृषि सामाग्रीको आयात बढ्दै जाने हो भने हामी कृषि प्रधान मुलुकका नागरिकहरु नै पूर्ण रुपमा आफुले दैनिक रुपमा प्रयोग गर्ने खाद्यन्नको निम्ति विदेशमै निर्भर रहनुपर्ने हुन्छ । जसले एक दिन भोकमरीको सृजना गराउनेमा कुनै शंका छैन् ।
यस विषयमा राज्याले पनि समयमा नै ध्यान दिनु जरुरी छ ।
राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अवसरहरुको सृजना गराउने, कृषि क्षेत्रको व्यवसायिकता र आधुनिकिकरणका लागी उचित तालिमको व्यवस्था गरिदिने, मलजल, कृषि औजार र उन्नत जातका विउविजनको उपलब्धता, सिंचाइको व्यवस्था, कृषिको लागी ऋण तथा अनुदानको व्यवस्था यसका साथै उचित बजार भाउ, ढुवानीको सुविधा, बजार व्यवस्थापन लगायतका क्षेत्रमा ध्यान दिएर कृषकहरुको मनोबल बढाउने र यसमा पनि भविष्य राम्रो छ भन्ने सोचाइको विकास गराउने वातावरण सरकारबाट सृजना गरिनुपर्छ ।
यसका साथै नागरिकहरुले पनि स्वयम यस क्षेत्रको भविष्यलाई नियालेर परदेश र अन्य ठाउँमा गर्ने दुख यही आफ्नै स्वदेशी भूमीमा नै गर्न सके असफलता भने पक्कै भईदैन भन्ने कुरामा स्पष्ट भई लागी पर्न सक्नुपर्छ । तब मात्र हामीले नेपाल कृषि प्रधान देश हो भन्नमा सार्थकता मिल्छ । होइन भने अब कृषि प्रधान देश नेपाललाई कृषिको ‘कृ’ पनि भन्न नसुहाउने अवस्था आउन केहि समय पनि लाग्ने छैन् ।